स्थानीय उत्पादनसँगै उत्पादकत्व बढाउनु भन्दा परनिर्भरता बढ्दै रैथाने बालीहरु हराउँदै गएका बेला जिल्लामा रैथाने बाली संरक्षण गर्ने र उपभोग गर्नेबारे बृहत छलफल गरिएको छ ।
स्थानीय बिकास अधिकारी हरि प्याकुरेलले अण्डा र ध्यू बेचेर चाउचाऊ खरिद गर्ने सामाजिक प्रचलन बन्द गरेर स्थानीय उत्पादनलाई बढाउन अभियान थाल्नुपर्ने बताएका छन् । सुआहारा दोस्रो चरणको कार्यक्रमबारे जिल्लामा गरिएको बृहत छलफलमा बोल्दै प्याकुरेलले अव कोदो, भटमास, मेवा, फर्सीको
उपभोग गर्ने बानी बसाल्दै उत्पादनतिर ध्यान दिन कृषि, पशु र अन्य निकायहरुले बिशेष चासो र चिन्ता गर्नुपर्ने बताए ।
राम्रो काम गर्न खोज्दा खट्टा तान्ने प्रवृती जिल्लामा धेरै भएको भन्दै प्याकुरेलले ठोस उपलब्धिमुलक काम गर्न सवै सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह समेत गरेका छन् । जिल्लामा काम गर्ने बातावरण राम्रो छ तर बुझेकै केही व्यक्तिहरुले आफुलाई नभए बेनामी उजुरी गर्ने चलन भएकोले सामान्य समस्या भएको बताए ।
जिल्लाका सरकारी कार्यालयहरुले परदर्शीता अभियान अन्तरगत कार्यालयका हरेक गतिविधिहरु जिल्लाका राजनीतिक दलहरुलाई जानकारी गराई एक बर्षमा एउटा ठोस कामको रणनीति सुरु गर्न सके दैलेख बिकासको गतिमा अघि बढ्ने बताए । कर्मचारी राख्ने क्रममा परियोजनाले स्थानीय जनशक्तिलाइ प्राथमिकता दिनुपर्ने सुझाव प्याकुरेलले दिएका छन् ।
एभरेष्ट क्लब दैलेखको सहजिकरणमा सञ्चालन हुन लागेको सु–आहारा दोस्रो चरण कार्यक्रम अन्तरगत सामाजिक व्यवहार परिवर्तन सँगै सरसफाई अभियान, नवजात शिशुको सुरक्षा, स्तन पान, २ बर्ष मुनिका बालवालिकाहरुको लागि बाल्यकालिन पोषण, एक हजार दिनभित्रका सुत्केरी महिलाहरुको पोषण सुरक्षा लगायतका गतिविधिहरु सञ्चालन हुने जिल्ला कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले बताए ।
अभिमुखिकरणमा उपस्थित कार्यालय प्रमुख, स्वास्थ्य, कृषि, अनुसंन्धान र नागरिक समाजका पं्रमुख एवं प्रतिनिधिहरुले कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि सरोकारवालाहरुले ठोस नीति लागु गरि संचालन गर्नुपर्ने सुझाव दिएका छन् । जिल्लामा देखिएको पोषण समस्या र यसको समाधानका लागि बाली उत्पादन, उपभोग, बितरण र बजारीकरण कार्यक्रमलाई सँग सँगै अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् ।









